Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

स्तनपान : आमा र बच्चा दुवैलाई फाइदा

Friday June 25, 2021
स्तनपान : आमा र बच्चा दुवैलाई फाइदा

‘स्तनपान अमृत समान’ लामो समयदेखि चर्चामा आएको भनाइ केवल नारा मात्र होइन, यथार्थ झल्काउने भनाइ हो । स्तनपानको महत्व वैज्ञानिक तथा सामाजिक रूपमा प्रमाणित भइसकेका कारण यसको वकालत सबै क्षेत्रबाट हुन थालेको छ । विश्वभरका स्वास्थ्य विषेशज्ञ प्रमाणकै आधारमा स्तनपानको महिमा गाउँदै हिँडेका छन् । समयको व्यस्तता, विलासिता, बल, अहं र स्वार्थजस्ता अनेक कारणवश मनुष्य जाति आफ्ना शिशुलाई आमाको दूधबाहेक अन्य जनावरको दूध खुवाउन उद्यत छन् । तर, यति बुझ्नु महत्वपूर्ण छ कि, प्रकृितले हरेक जीवको दूध आफ्ना सन्तानका लागि सर्वोकृष्ट हुने किसिमले बनाएको हुन्छ । त्यसैले हरेक स्तनधारीको दूध आफ्ना बच्चाका लागि अन्य कुनै जीवको भन्दा बढी पोषिलो र स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

नेपालमा स्तनपान गराउने महिलाको प्रतिशत पछिल्लो समयमा घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । केही वर्षयता महिलाहरू घरभित्रको कामकाजमा मात्र सीमित नभई रोजगारीका लागि घरबाहिर निस्कन थालेका कारण यो संख्यामा कमी आउन थालेको हो । शिशुलाई स्तनपान गराउँदा सौन्दर्यमा कमी आउँछ भन्ने धारणाका कारण पनि धेरै महिला शिशुलाई स्तनपान गराउन चाहँदैनन् । तर, स्वास्थ्य विषेशज्ञहरूका अनुसार शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । किनकि आमाको दूधमा जन्मेदेखि ६ महिना उमेरसम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वको मिश्रण उपयुक्त रूपमा रहेको हुन्छ । आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगको जीवाणुसँग लड्ने तत्व (एन्टिबडी) बढी रहेको हुन्छ । यसैकारण स्तनपान गरेका शिशु यस्तो अवसर कम पाएका वा नपाएका शिशुको तुलनामा कमै मात्रामा बिरामी हुन्छन् ।

बच्चालाई दूध चुसाउँदा महिलाको रूप बिग्रन्छ, शरीर कमजोर हुन्छ भन्ने कुरा सत्य होइन । सृष्टिले हरेक स्तनधारी जीवका लागि दूध बनाएको हुन्छ । र, दूध आफ्ना सन्तानलाई खुवाउनकै लागि बनेको हो । तसर्थ, आफ्नो बच्चालाई दूध खुवाउँदा आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ । बरु दूध नखुवाउँदा शिशु पटक–पटक अस्वस्थ हुने कारणले आमाले झन्झट बेहोर्नुपर्ने हुन्छ । जसका कारण उनको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यहाँ ध्यान राख्नुपर्ने कुरा के हो भने शिशुलाई स्तनपान गराउने आमाले कम्तीमा दिनको दुईपटक पेटभरि पोषिलो खाना खान पाउनुपर्छ ।

बच्चा जन्मनासाथ महिला बढी उमेरको जस्तो देखिनुको कारण उनले पोषिलो खाना पेटभरि खान नपाउनु हो । बच्चा हुर्काउने जिम्मेवारी आफूले मात्र लिनुपर्नेे कारणले पनि महिलाको स्वास्थ्य कमजोर हुन जान्छ । आर्थिक रूपमा सम्पन्न महिला भने सुत्केरी अवस्थामा बढी चिल्लो भएको खाना खाने र शारीरिक व्यायाम हुनै नपाउने गरी लामो समयसम्म ओच्छ्यानमै बसिरहनेजस्ता कारणले शरीरमा बोसो थुप्रिएर बढी उमेरको देखिने मात्र हो । तसर्थ आमाले आफ्नो स्वास्थ्य र सौन्दर्य कायम राख्नकै लागि शिशुलाई स्तनपान गराउनुको साथै आफूले पनि पौष्टिक आहारा खानुपर्छ । यसो गर्ने हो भने आमाको स्वास्थ्य र सौन्दर्य कायम रहन्छ ।

स्तनपानका धेरै फाइदा छन् । तर, यस सम्बन्धमा पर्याप्त जानकारी नपाएकै कारण आमाहरू आफ्ना सन्तानलाई स्तनपान गराउने कुरालाई त्यति धेरै महत्व दिँदैनन् । शिशुलाई नियमित स्तनपान नगराउँदा दूधको प्रवाह कम हुन्छ । कुनै प्रयास वा मिहिनेतविना दूध आए बच्चालाई खुवाउने नआए अन्य विकल्पतर्फ तुरुन्त लाग्ने स्वभाव प्रायः महिलाको हुन्छ । नवजात शिशुलाई जन्मिएको एक घन्टाभित्रै छातीमा टाँसी दूध चुसाउँदा आमाको दूध बढी पग्रन्छ । र, यसपछिको समयमा शिशुले मागेअनुरुप वा २–२ घन्टाको फरकमा नियमपूर्वक दूध चुसाउँदा शिशुलाई दूध पुग्ने गरी आउन थाल्छ । शिशुलाई जन्मनासाथ स्तनपान गराएमा सुत्केरी आमाको पाठेघर खुम्चन मद्दत पुग्छ । साथै अति रक्तश्राव हुने खतरा कम भई साल छिटो झर्न मद्दत पुग्छ । शिशुलाई स्तनपान गराउने महिलालाई अन्य महिलाको तुलनामा स्तन क्यान्सर हुने सम्भावना आधा मात्रै हुन्छ ।

आमाको दूध खाने शिशु गाई, भैँसी, बाख्रा वा बट्टाको दूध खाने शिशुभन्दा स्वस्थ र बलिया हुन्छन् । आमाको दूध शिशुले सजिलै पचाउन सक्छन् । शिशुको शरीरलाई उपयुक्त हुने पोषण तथा झोल तत्व आमाको दूधमा मात्र हुन्छ । आमाको दूधले एन्टिबायोटिकको काम गर्छ । यस्तो शक्ति अन्य दूधमा हुँदैन । शिशुको उमेर ६ महिना पुगेपछि आमाको दूधका साथै अन्य खाना पनि खुवाउन सुरु गर्नुपर्छ । तर, शिशुको उमेर २ वर्ष नपुगेसम्म आमाको दूध छुटाउनुहुन्न । स्तनपान नियमित गरेका शिशुहरू अन्य शिशुको तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन् ।

बच्चालाई दूध चुसाउँदा महिलाको रूप बिग्रन्छ, शरीर कमजोर हुन्छ भन्ने सत्य होइन । सृष्टिले हरेक स्तनधारी जीवका लागि दूध बनाएको हुन्छ, र दूध सन्तानलाई खुवाउनैकै लागि बनेको हो । तसर्थ, आफ्नो बच्चालाई दूध खुवाउँदा आमाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

शिशुलाई आमाको पहेँलो बिगौती दूध खुवाउनु अति आवश्यक हुन्छ । विगौती दूध अत्यन्त पोषिलो मात्र होइन, यसमा रोगसँग लड्न चाहिने विभिन्न तत्व प्रशस्त मात्रामा हुन्छ । स्वास्थ्य विषेशज्ञ जन्मिएको ६ महिनासम्म शिशुलाई आमाकोबाहेक अन्य कुनै कुरा नखुवाउन सुझाउँछन् । किनकि स्तनपान गरिरहेका शिशुलाई झाडा–पखाला तथा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ । आमाको दूध खाइरहेका शिशुलाई आमाको दूधबाहेक पानी पनि खुवाउन जरुरत हुँदैन । कम तौलको शिशुले लगातार आमाको दूध चुस्न सक्दैन । त्यसैले यस्ता शिशुलाई छोटो–छोटो समयमा थोरै बेर दूध चुसाउनुपर्छ ।

घरबाहिर काममा जाने महिलाको हकमा आफ्नो दूध दुहेर सफा भाँडाले छोपेर राखी बच्चालाई समय–समयमा खुवाउन सकिन्छ । यसरी दुहेको दूध ८ घन्टासम्म बिग्रँदैन । केही समययता कार्यालय तथा अन्य कार्यस्थलमा शिशुलाई स्तनपान कक्ष राखिएको पाइन्छ । यो सकारात्मक कदम हो । सबै कार्यकक्षमा यस्ता स्तनपान कक्ष हुँदैनन् । एचआइभी संक्रमित महिलाले जन्माएको शिशुलाई भने स्तनपान गराउँदा दूधबाट रोग सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो अवस्थामा शिशुलाई आमाको दूध नखुवाउन सुझाइन्छ । तर, यदि नवजात शिशुमा एचआइभी सरिसकेको अवस्था छ भने पनि कम्तीमा ६ महिना दूध खुवाउँदा शिशु बलियो हुन्छ ।  यति धेरै फाइदा रहेको स्तनपानको महत्व सबैले बुझून् र स्वीकार गरून् भनी विश्वका १ सय ५० राष्ट्रभन्दा बढी सम्मिलित ‘विश्व स्तनपान संगठन’ तथा स्तनपानका लागि वकालत गर्नेहरूले विगत २० वर्षदेखि हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार अगस्त १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाउँदै आएका छन् । नेपालमा पनि यो दिवस हरेक वर्ष साउन महिनाको दोस्रो हप्ता मनाइन्छ ।

यस वर्ष अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको नारा ‘इम्पावर प्यारेन्ट्स, इनेबल ब्रेस्ट फिडिङ’ रहेको छ । यसको अर्थ आमा–बुबालाई सशक्त बनाई स्तनपान गराउन सक्षम बनाउने भन्ने हो । शिशुले जन्मनासाथ आमाको दूध खान पाउनुपर्छ । यो उसको जन्मसिद्ध अधिकार हो । कुनै पनि शिशु आफ्नो इच्छाले जन्मेको हुँदैन । आफ्नो रहरले जन्माएको अबोध बच्चाको जीवन रक्षा तथा वृद्धिविकासमा ख्याल पु-याउने प्रथम दायित्व आमा–बुबाको नै हुन्छ । साथसाथै बालिकाको स्वास्थ्य प्रवद्र्धनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट यथाशक्य भूमिका निर्वाह गर्नुपर्छ । सामाजिक सञ्जाल, आपसी कुराकानीले पनि यस विषयको महत्व पाउन सके यसबारे मानिसहरूले यथार्थ जानकारी पाउन सक्छन् । बोल्न नसक्ने अबोध बालबालिकाको अधिकार संरक्षणमा आवाज उठाउनु  हामी सबैको कर्तव्य हो ।

कुनै पनि अभियानका नारा नारामै मात्र सीमित पार्नुहुँदैन ।  यसमा रहेका भावनालाई व्यवहारमा उतार्ने इमानदार प्रयास गर्नुपर्छ । नेपालमा स्तनपानको अभियान सार्थक पार्न केही कुरामा जोड दिन आवश्यक देखिन्छ । अस्पतालमा आमा–बाबुलाई स्तनपानको महत्वबारे स्पष्ट जानकारी दिने व्यवस्था मिलाउनुपर्छ । स्तनपान गराउने महिलालाई श्रीमान् तथा परिवारबाट पूर्ण सहयोग हुनुपर्ने बारेमा स्वयंसेविकामार्फत सरोकारवालालाई परामर्श उपलब्ध गराउन सकिन्छ । माथि नै छलफल गरिएझैँ बाहिर कामकाजका जाने महिलाका लागि कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था मिलाउनुपर्छ ।

गर्भ रहेको ८ महिनामा अन्तिमपटक गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा आएका वेला स्तनपान गराउने आमाले अपनाउनुपर्ने आवश्यक कदम तथा शिशुलाई दूध खुवाउने उपयुक्त आसनबारे आवश्यक जानकारी गराउने पद्धति बस्नुपर्छ ।  यसर्थ बालस्वास्थ्यको दिगो विकासका लागि स्तनपानको महत्व अत्यधिक रहेको छ । शिशु स्वस्थ्य भई बाँच्न पाउने अधिकारको संरक्षण गर्न सबैले आ–आफ्नो स्थानबाट सकेको योगदान गर्नुपर्छ ।