Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

शिशुका लागि अत्यावश्यक छ स्तनपान

Friday June 25, 2021

‘स्तनपान अमृत समान’ भन्ने नारा लामो समयदेखि प्रचलित छ । यद्यपि, यो केवल नारा मात्र होइन, यथार्थ हो । स्तनपानको महत्व वैज्ञानिक तथा सामाजिक रूपमा प्रमाणित भइसकेको छ । स्तनपान शिशुका लागि अमृत समान हो । समयको व्यस्तता, विलासिता, अहम् र स्वार्थजस्ता कारण मनुष्य जाति आफ्ना शिशुलाई आमाको दूधबाहेक जनवारको दूध खुवाउन उद्यत् छन् ।

यसकारण अत्यावश्यक 

  •  सौन्दर्यमा कमी आउँछ भन्ने धारणाका कारण पनि धेरै महिला शिशुलाई स्तनपान गराउन खासै चासो गर्दैनन् । तर, स्वास्थ्य विशेषज्ञका अनुसार जन्मेको दुई वर्षसम्म शिशुलाई आमाको दूध खुवाउनुपर्छ । किनकि, आमाको दूधमा जन्मेदेखि ६ महिनासम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वको  मिश्रण उपयुक्त रूपमा रहेको हुन्छ । आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगका जीवाणुसँग लड्ने तत्व बढी हुन्छ । जसका कारण स्तनपान गरेका शिशु अन्यका तुलनामा कमै मात्र बिरामी हुन्छन् ।
  • आफ्ना बच्चालाई दूध खुवाउँदा आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ । बरु दूध नखुवाउँदा शिशु पटक–पटक अस्वस्थ हुने कारणले आमाले झन्झट बेहोर्नुपर्ने हुन्छ । जसका कारण उनको स्वास्थ्यमा नकारात्मक असर पर्छ । शिशुलाई स्तनपान गराउने आमाले कम्तीमा दिनको दुईपटक पेटभरि पोषिलो खाना खान पाउनुपर्छ । बच्चा जन्मनासाथ महिला बढी उमेरको जस्तो देखिने कारण उनले पोषिलो खाना पेटभरि खान नपाएर हो । बच्चा हुर्काउने जिम्मेवारी आफूमा बढी लिनुपर्नेे भएकाले पनि महिलाको स्वास्थ्य कमजोर हुन जान्छ । आर्थिक रूपमा सम्पन्न महिलाले सुत्केरी अवस्थामा बढी चिल्लो भएका खाना खाने र शारीरिक व्यायाम हुन नपाउने गरी लामो समयसम्म ओछ्यानमै बसिरहनेजस्ता कारणले शरीरमा बोसो थुप्रिएर बढी उमेरको देखिन्छ । तसर्थ, आमाले आफ्नो स्वास्थ्य र सौन्दर्य कायम राख्न शिशुलाई स्तनपान गराउनुका साथै आफूले पनि पौष्टिक आहारा खानुपर्छ । जसले गर्दा उनीहरूको स्वास्थ्य र सौन्दर्य कायम रहिरहन्छ ।

जन्मिएको दुई वर्षसम्म शिशुलाई आमाको दूध खुवाउनुपर्छ । आमाको दूधमा जन्मेदेखि ६ महिनासम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ ।

फाइदा

  •  शिशुलाई नियमित स्तनपान नगराउँदा दूधको प्रवाह कम हुन्छ । जन्मिएको एक घन्टाभित्रै नवजात शिशुलाई छातीमा टाँसी दूध चुसाएमा आमाको दूध बढी पग्रन्छ । र, यसपछि शिशुले मागेअनुसार सवा दुई–दुई घन्टाको फरकमा नियमपूर्वक दूध चुसाउँदा पुग्दो दूध आउन थाल्छ ।
  •  बच्चा जन्मनासाथ स्तनपान गराएमा सुत्केरी आमाको पाठेघर खुम्चिन मद्दत पुग्छ । साथै, अति रक्तश्राव हुने खतरा कम भई साल छिटो झर्न मद्दत पुग्छ । शिशुलाई स्तनपान गराउने महिलालाई अन्यका तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ ।

  •  गाई, भैँसी, बाख्रा वा बट्टाको दूध खानेभन्दा आमाको दूध खाने शिशु स्वस्थ र बलिया हुन्छन् । आमाको दूध शिशुले सजिलै पचाउन सक्छन् । शिशुको शरीरलाई उपयुक्त हुने पोषण तथा झोल तत्व आमाको दूधमा मात्र हुन्छ । आमाको दूधले एन्टिबायोटिकको काम गर्छ । यस्तो शक्ति अन्य दूधमा हुँदैन । स्तनपाननियमित स्तनपान गरेका शिशु अन्यका तुलनामा तीक्ष्ण बुद्धिका हुन्छन् ।
  •  शिशुलाई आमाको पहेँलो बिगौती दूध खुवाउन अति नै आवश्यक हुन्छ । बिगौती दूध पोषिलो मात्र नभएर यसमा रोगसँग लड्न आवश्यक तत्व प्रशस्त हुन्छ ।
  •  घरबाहिर काममा जाने महिलाले आफ्ना दूध दुहेर सफा भाँडामा छोपेर राखी बच्चालाई समय–समयमा खुवाउन सकिन्छ । यसरी दुहेको दूध ८ घन्टासम्म बिग्रँदैन ।
  •  एचआइभी संक्रमित महिलाले स्तनपान गराएमा दूधबाट एचआइभी सर्ने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो अवस्थामा शिशुलाई आमाको दूध नखुवाउदा नै उत्तम हुन्छ । यदि, नवजात शिशुमा एचआइभीसरी सकेको अवस्था छ भने कम्तीमा ६ महिना दूध खुवाउँदा शिशु बलियो हुन्छ ।