Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

बाल मृत्युदर न्यूनीकरण गर्न ‘सुसार’ कार्यक्रम

Friday June 25, 2021
बाल मृत्युदर न्यूनीकरण गर्न ‘सुसार’ कार्यक्रम

प्रदेश नं. २ मा बाल मृत्युदर न्यूनीकरणका लागि शिशु स्याहार कार्यक्रम ‘सुसार’ लागू हुने भएको छ । मातृ तथा नवजात शिशुको मृत्युदर तुलनात्मक रुपले बढी रहेकाले प्रदेश २ मा ‘सुसार’ लागू गर्न लागिएको कार्यक्रमकी सञ्चार विशेषज्ञ सृजना शर्माले जानकारी दिइन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा ‘सुसार’ कार्यक्रम लागू भएपछि अहिलेको अवस्थामा सुधार ल्याउन विभिन्न ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट प्रसुति नहुञ्जेलसम्म गर्भवतीहरुको नियमित निगरानी गरिनेछ । नियमित रुपमा मातृ स्याहार र शिशु स्याहार गरिँदा प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन स्वास्थ्यकर्मीहरुलाई समेत सशक्त बनाइने सुसार कार्यक्रमकी व्यवस्थापक रेजिना गुरुङले बताइन् । ‘मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम दिने तथा आधुनिक उपकरणहरुको प्रयोगद्वारा सेवाको गुणस्तर बढाउने लक्ष्य छ,’ उनले भनिन् । उनका अनुसार कार्यक्रम लागू भएपछि भ्रूणको मुटुुको धड्कन जाँचको लागि मोयो, नवजात शिशुको मुटुको धडकन जाँँचका लागि नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वासप्रश्वास गराउन अपराइट ब्याग-मास्कजस्ता आधुनिक उपकरणहरु अस्पतालमा उपलब्ध हुनेछ ।

नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मिने तथ्याङ्क छ । यसमध्ये ११ हजार शिशु मृत अवस्थामै जन्मिने र उचित स्याहारको कमीले १३ हजार नवजात शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको छ । नेपाल सरकारले सन् २०३० सम्म हालको सरदर नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई घटाएर जीवित जन्ममा १२ जना र मृत जन्मिने शिशुको दर प्रतिहजारमा १३ मा घटाउने लक्ष्य लिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा अहिले दैनिक ४० देखि ५० जना प्रसुति हुने गरेको छ । अस्पतालका प्रमुख डा. नागेन्द्र यादवका अनुसार एक दिनमा ७ देखि १० वटासम्म अपरेसन हुने गरेको छ ।