Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

नेपालमा लकडाउनको समयमा स्वास्थ्य संस्थामा शिशुको जन्म ५२ प्रतिशतले घट्यो, नवजात शिशु मृत्यु तीन गुणा बढ्यो

Friday June 25, 2021
नेपालमा लकडाउनको समयमा स्वास्थ्य संस्थामा शिशुको जन्म ५२ प्रतिशतले घट्यो, नवजात शिशु मृत्यु तीन गुणा बढ्यो

काठमाडौं- नेपालमा लकडाउनको समयमा स्वास्थ्य संस्थामा हुने जन्ममा ५० प्रतिशतभन्दा बढीले कमी आएको र नवजात शिशुको मृत्यु तीन गुणाले बढेको एक अध्ययनले देखाएको छ।संसारकै सबैभन्दा पुरानो स्वास्थ्यसम्बन्धी विश्वसनीय जर्नल ल्यानसेटमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार नेपालमा लकडाउनको समयमा स्वास्थ्य संस्थामा हुने जन्म ५२ दशमलव ५ प्रतिशतले कमी आएको छ। प्रतिवेदनमा नेपालमा यो अवधिमा नवजात शिशु मृत्युदरमा तीन गुणाभन्दा पनि बढी वृद्धि भएको उल्लेख छ। लकडाउनको समयमा नवजात शिशु मृत्यु दर १३ प्रति १ हजार जीवित जन्मबाट बढेर ४० प्रति १ हजार जीवित जन्ममा पुगेको उल्लेख छ।

अध्ययनका क्रममा स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने महिलाको संख्यामा आधाभन्दा बढी कमी आएको देखियो, अध्ययन प्रतिवेदन तयार पार्नेमध्येका एक डा आशिष केसीले भने, नवजात शिशुको मृत्युदर त तीन गुणाभन्दा पनि बढी हुने गरेको देखियो।

उनका अनुसार अध्ययनका क्रममा स्वास्थ्य संस्थामा हुने मृत शिशु दर पनि प्रति एक हजार जीवित जन्ममा १४ बाट बढेर २१ पुगेको छ।

स्याहारको गुणस्तरको सम्वन्धमा भ्रुणको मुटुको चाल मापन गर्न गरिने जाँचमा १३ दशमलव ४ प्रतिशतले कमी आएको र १ घण्टा भित्र गर्नुपर्ने स्तनपानमा ३ दशमलव ५ प्रतिशतले कमी आएको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ।

ग्रान्ड च्यालेन्जेस क्यानडाको सहयोगमा भएको यस अध्ययनमा कुल २२ हजार ९ सय ७ मध्ये २१ हजार ७ सय ६३ महिलालाई समावेश गरिएको थियो। जसमा १० हजार ४ सय ५३ जन्मको अवलोकन गरिएको थियो। डा आशिष केसी, रेजिना गुरुङ, म्यारी भि किन्ने, अभिनास सन्नी, मोइनुद्दिन, ओमबार बस्नेत, प्रज्वल पौडेल, प्रतिक्षा भट्टराई, कल्पना सुवेदी, महेन्द्र श्रेष्ठ लगायतको टिमले उक्त अध्ययन प्रतिवेदन तयार पारेका हुन्।

डा आशिष केसीका अनुसार यो अध्ययनले नेपालमा राष्ट्रियस्तरमा कोभिड-१९ लकडाउन हुनुभन्दा पहिलेको र भइरहेको समयमा आएका परिणामहरू (स्वास्थ्यसंस्थामा हुने मृतजन्म र नवजात शिशु मृत्युदर), स्वास्थ्यसंस्थामा हुने जन्मदर र प्रसूति स्याहारको गुणस्तरको मूल्यांकन गरेको छ।

डा केसीका अनुसार यो अध्ययन ९ वटा अस्पतालहरुमा ५ महिना (१ जनवरी – ३० मे २०२०) को अवधिसम्म गरिएको हो। अध्ययनमा लकडाउन सुरु हुनुभन्दा १२.५  हप्ता अघिको र लकडाउन अवधिको ९.५ हप्ताको समयलाई समावेश गरिएको छ।