Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

नवजात शिशु मृत्युदर घटाउन संचारकर्मीले सचेतना जगाउनु पर्ने

Friday June 25, 2021
नवजात शिशु मृत्युदर घटाउन संचारकर्मीले सचेतना जगाउनु पर्ने

बिराटनगर– नेपालमा वर्षेनी १ हजार शिशु मृत अवस्थामा जन्मन्छन्, करीव १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै ज्यान गुमाउँछन् ।

नवजात शिशु मृत्युदर कम गर्न सञ्चारकर्मीको समेत भूमिका महत्वपूर्ण रहने सरोकारवालाले बताएका छन् ।
गोल्डेन कम्यूनिटी संस्थाले सोमवार कोशी अञ्चल अस्पतालमा पत्रकारका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा पूर्वस्वास्थ्य सचिव सुशीलनाथ प्याकुरेलले हरेक जनताको स्वास्थ्यलाई संविधानले मौलिक हकमा ग्यारेन्टी गरेका कारण यसप्रति सवै सजग हुनु पर्ने धारणा राख्नु भयो ।

उहाँले गर्भवती महिलालाई ढिलो गरी अस्पताल पुर्याउनु, यातायातको सहज पहुँच नहुनु, अस्पताल पुगेपछि पनि सहि समयमा सहि उपचार नपाउँदा, वाल विवाह र कुपोषण जस्ता कारणले मृत्युदर बढी भएको बताउनु भयो ।

उहाँले यस्ता कुरालाई सञ्चारमध्यमले वाहिर ल्याउँदा समुदायमा चेतना फौलने बताउनु भयो ।

उक्त कार्यक्रममा कोशी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवले राष्ट्रिय तथ्याङ्कको तुलनामा कोशी अञ्चल अस्पतालमा शिशु मृत्युदर कम रहेको बताउनु भयो ।

उहाँले एक वर्षको अवधिमा अस्पतालमा ८ हजार २ सय ५२ जनालाई सुत्केरी गराउन ल्याइएको जानकारी दिनु भयो ।

त्यसमध्ये नवजात शिशु ७ जना मात्रको मृत्यू भएको उहाँले बताउनु भयो ।

तर पेरनटेल डेथ भने १०१ जनाको भएको उहाँले बताउनु भयो ।

यसै गरी २ जना आमाको सुत्केरी गराई सकेपछि मृत्यु भएको थियो ।

कार्यक्रममाथि प्रकाश पार्दै गोल्डेन कम्यूनिटीकी संचार विज्ञ सिर्जना शर्माले नवजात शिशुको हालको मृत्यूदर कम गर्न सरकारले अघि सारेको लक्ष्यलाई पूरा गर्न गोल्डेन कम्यूनिटीले अस्पतालहरुका प्रसुती गृहमा काम गर्ने स्वास्थ्यकर्मीलाई दक्ष बनाउदै आधुनिक उपकरण समेत प्रदान गर्ने गरेको बताउनु भयो ।

उहाँले समुदायमा सचेतनाको पाटोलाई समेत ध्यानमा राखेर पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको वताउनु भयो ।

नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् ।

त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करीव १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन् ।

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जिवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेको छ ।

यो लक्ष्य प्राप्तिमा हातेमालो गर्दै गोल्डेन कम्यूनिटीले यो सुधार कार्यक्रम अघि सारेको हो ।

यो कार्यक्रम देशभरका ८ वटा अस्पतालमा लागू गरिएको छ ।

कार्यक्रमअन्तर्गत गोल्डेन कम्यूनिटीले प्रसुती समयको जटिलतालाई गुणस्तरीय ब्यवस्थापन गर्न सहयोग गर्दै आएको छ ।

यसै कार्यक्रम अन्तर्गत प्रदेश नम्बर १ को कोशी अञ्चल अस्पतालका प्रसुती विभिगका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ ।

कोशी अञ्चल अस्पतालका ३८ जना स्वास्थ्यकर्मीहरुले उक्त तालिम पाउनेछन् ।

पहिलो चरणमा १८ जनालाई चार दिनको तालिम दिइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारहरुलाई प्रदान गरिने यस्ता अभिमुखीकरण कार्यक्रमले सबै पक्षलाई फाइदा पुग्ने बताउनु भयो ।

कार्यक्रममा मोरङका १५ जनाभन्दा बढी पत्रकारहरु सहभागी रहेका थिए ।