Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

नवजात शिशुमा संक्रमण

Friday June 25, 2021
नवजात शिशुमा संक्रमण

 

जन्मिएको २८ दिनभित्र शिशुको रगतमा कीटाणुले खराबी गर्नु संक्रमण हो । संक्रमणले निमोनिया, मेनेन्जाइटिस र मिर्गाैलासम्बन्धी समस्या जनाउँछ । नवजात शिशुको मृत्युको एउटा प्रमुख कारण संक्रमण पनि हो । प्रत्येक एक हजार जीवित जन्मिएकामध्ये एकदेखि आठजना नवजात शिशु संक्रमणको उच्च जोखिममा हुन्छन् । नेपालमा १९ प्रतिशत नवजात शिशुको मृत्यु संक्रमणकै कारण हुने गरेको छ ।डा. प्रज्ज्वल पौडेल
बालरोग विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कारण

  • सामान्यतया बच्चाको तौल २५ सय ग्रामभन्दा कम भएका उनीहरू संक्रमणको उच्च जोखिममा रहने गर्छन् । त्यस्तै, जन्मनासाथ निस्सासिएको भएमा वा नरोएमा पनि बच्चामा समस्या हुन्छ ।
  • सुत्केरी हुनुभन्दा पहिला आमालाई ज्वरो आएमा वा संक्रमण भएमा, नवजात शिशुलाई आमाको दूधबाहेक अन्य चिज खुवाएमा, नाभी तथा आँखामा विभिन्न चिज लगाएमा, नवजात शिशुलाई छुनुपूर्व हात राम्रोसँग नधोएमा वा सरसफाइको कमी भएमा समेत बच्चा संक्रमणको सिकार हुने गर्छन् ।
  • संक्रमणले गर्दा शिशुको शारीरिक तथा मानसिक वृद्धि विकासमा बाधा पुग्छ । जसले गर्दा शिशु कमजोर हुने,  हुर्केपछि पनि बरोबर ज्वरो आउने, झाडा पखाला, रुघाखोकी तथा निमोनिया भइरहने खतरा हुन्छ । समयमै उपचार नभएमा शिशुको मृत्यु नै हुन सक्छ ।

लक्षण 

  • शिशुले छिटो–छिटो सास फेर्नु, कडा कोखा हान्नु, आमाको दूध राम्ररी चुस्न नसक्नु, कम्प छुट्नु तथा ठस्ठस् कन्नु ।
  • छाम्दा बढी तातो वा धेरै चिसो हुनु, तारन्तार बान्ता गरिरहनु, चाल सुस्त देखिनु, नाइटो रातो हुनुवा पिप बग्नु ।

रोकथाम

  • गर्भावस्थामा उचित हेरचाह गरेमा बच्चालाई संक्रमणबाट बचाउन सकिन्छ । गर्भावस्थामा आमाले नियमित गर्भजाँच गराउने, तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने तथा गर्भावस्थामा केही समस्या आएमा तुरुन्त उपचार गराउने गरेमा गर्भमा रहेको शिशुलाई संक्रमणबाट बचाउन सकिन्छ ।
  • जन्मिएको जतिसक्दो चाँडो शिशुलाई आमाको दूध चुसाउने र यसलाई निरन्तरता दिने गर्नुपर्छ । नाभीमा केही नलगाई सफा र सुक्खा राख्नुपर्छ । शिशुमा कुनै समस्या देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिनुपर्छ । कम तौलको शिशु भएमा आमाको छातीमा टाँसेर राख्नुपर्छ ।

उपचार

  • संक्रमण भएमा शिशुको तौलअनुसार नसाबाट शीघ्र एन्टिबायोटिकबाट उपचार गर्नुपर्छ ।
  • जतिसक्दो चाँडो शिशुलाई अस्पताल लगेर उपचार गराउनुपर्र्छ । अस्पतालमा विशेष किसिमले न्यानो राख्ने, आमाको दूध चुस्न नसकेमा वैकल्पिक विधि अपनाएर आमाकै दूध खुवाउने तथा सफा कक्षमा शिशुको स्याहार गर्नुपर्छ ।
  • निःशुल्क नवजात शिशु सेवा कार्यक्रमअन्तर्गत सबै सरकारी स्वास्थ्य संस्थामा नवजात शिशुको निःशुल्क उपचार हुन्छ ।