Nepal Govt. Reg. No.: 144333/072/073

01-526916

Contact Us

जन्मदा निस्सासिएको शिशु बचाउने उपाय

Friday August 9, 2019
जन्मदा निस्सासिएको शिशु बचाउने उपाय

-डा. प्रज्वल पौडेल–बालरोग विशेषज्ञ

जन्मनासाथ शिशु रुन्छ । रुनु भनेकै शिशुले राम्ररी सास फेर्नु हो । जन्मनासाथ नरोएमा सर्वसाधारणले मरेको बच्चा जन्मेको ठान्छन् । चिकित्सा शब्दावली जेजस्तो भए पनि जन्मदा बच्चाको स्वास्थ्य स्थिति ठीक छ भनी पहिचान गर्ने एउटा सूचक भने जन्मनासाथ रुनु पनि हो ।

नवजात शिशु जन्मने समयमा प्रसवसँग सम्बधित विभिन्न समस्याका कारण मर्न सक्ने जोखिम धेरै हुन्छ । यीमध्ये एउटा जन्मदा शिशुले सास फेर्न नसक्नु वा निसास्सिनु पनि हो । जन्मेको एक मिनेटभित्रै शिशुले सास फेर्न नसकेमा मस्तिष्कमा रक्तसंचार र अक्सिजनको कमी हुन जान्छ । त्यसैले जन्मनासाथ सास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वासप्रश्वास दिनमा ढिलो गर्नु हुँदैन । ढिलो गर्नाले उनीहरुको मस्तिष्कमा गम्भीर आघात पुग्नसक्छ र शिशुको मृत्युसमेत हुनसक्छ ।

जन्म लिएको पहिलो मिनटमै नवजात शिशुको जीवनको सुनौला अवसर निर्भर रहने हुँदा यो एक मिनेटको समयलाई ‘सुनौला मिनेट’ भन्ने गरिन्छ । सुनौलो मिनेटभित्र कृत्रिम श्वासप्रश्वास नपाउने शिशुलाई कालान्तरमा छारे रोगजस्तै कम्पन आइरहने, सुस्त मनःस्थितिको हुने, हेराइ र सुनाइ क्षमता कम हुन,े सिक्ने तथा बुझ्ने क्षमता कमजोर हुने सम्भावना अत्याधिक हुन्छ । यस्ता बच्चा स्कुल जान थालेपछि पढाइ लेखाइका साथै अन्य क्रियाकलापमा पनि कमजोर हुने समस्या देखा पर्न सक्छ ।

यसरी मस्तिष्कघात भएका शिशुलाई जन्मेको ६ घन्टाभित्रै दिइनुपर्ने उपचार ‘थेराप्युटिक हाइपोथर्मिया’  वा ‘बडी कुलिङ’ उपचार विधि नेपालमा भने आजसम्म पनि सुरु गर्न सकिएको छैन । यो विधि अपनाउन सकेको भए सायद धेरै नवजात शिशुको जीवन रक्षा हुन सक्थ्यो । साथै, जन्मदा निस्सासिएर बाँच्न सफल भएका धेरै सुस्तमनःस्थितिका सन्तान हेरेर परिवारका सदस्य चिन्तित हुनुपर्ने थिएन । हामी कहाँ यस्ता बालिबालिकालाई लक्षित गरी पठनपाठन गराउने तथा सीपमुलक तालिम दिने विशेष किसिमका शैक्षिक संस्था तथा तालिम केन्द्र पनि त खासै छैनन् ।

शिशुका लागि कृत्रिम श्वासप्रश्वास के हो?

जन्मदा सास फेर्न नसकी जीवन गुमाउने शिशुहरुलाई बचाउन केही समय यता नेपालमा विशेष किसिमको सरल कृत्रिम श्वासप्रस्वास विधि प्रयोगमा ल्याइएको छ । नेपाल सरकार तथा विभिन्न विज्ञहरुको प्रयासबाट सन् २०१३ देखि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा यो विधि अपनाई जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास प्रश्वास दिने तालिम दिइयो । यो तालिम मातृ तथा नवजात शिशुसेवामा संलग्न सबै स्वास्थ्यकर्मीलाई दिने कार्यको थालनी भयो ।

जन्मदा नरोएका वा सास फेर्न नसकी निस्सासिएका शिशुलाई के कसो गरी बचाउने भन्ने अन्योलमा रहने स्वास्थकर्मीलाई यो सरल तालिमपछि सुनौला मिनेटमा गर्नुपर्ने स्याहार गर्न सबल बनाएको छ । नयाँ प्रविधि अंगीकार गर्न नसकेको वर्तमान परिप्रेक्षमा यो सबै स्वास्थ्यकर्मीले जान्नैपर्ने विधि हो । यसको सबल पक्षको प्रमाणका आधारमा यो विधि अहिले देशका धैरै स्वास्थ संस्थामा विस्तार गर्दै लगिएको छ ।

के हो यो विधि ? 

अस्पतालमा जन्म भएको शिशु मुटुको गति सामान्य भए पनि जन्मनेबित्तिकै रोएन वा हिरिक हिरिक गर्छ भने स्वास्थ्यकर्मीले शिशुलाई जन्मेको एक मिनेटभित्रै ढाडमा सुम्सुम्याउने, नाक मुखको फोहर झिक्ने जस्ता कार्य गर्छन् । यति गर्दा पनि शिशु रोएन भने ‘ब्याग मास्क’ नामक उपकरण प्रयोग गरी कृत्रिम श्वासप्रश्वास गराउँछन् । ‘ब्याग मास्क’ विधिले शिशुको फोक्सोमा आवश्यक हावा पु¥याउँछ । त्यसले गर्दा श्वासप्रश्वासमा आवश्यक परिवर्तन ल्याउन मद्दत पुग्छ र शिशुले सास फेर्न सुरु गर्छ ।

नेपालमा नवजात शिशु मर्नुको प्रमुख ३ कारणमध्ये जन्मदा निस्सासिनु २३ प्रतिशत रहेको छ । विश्वमा वार्षिक करिब १० लाख शिशुहरु जन्मदा सास फेर्न नसकी निस्सासिएर मर्छन् । अध्ययनले देखाएबमोजिम हरेक दसमा एक शिशुलाई जन्मदा कृत्रिम श्वासप्रश्वासका लागि अतिरिक्त सहयोग आवश्यक हुन्छ । यति ठूलो संख्यामा नवजात शिशुहरुको स्वास्थ्यमा परेको क्षति न्यूनीकरण गर्न यो विधि निक्कै नै उपयोगी हुने विश्वास गर्न सकिन्छ ।