Nepal Govt. Reg. No.: 144333/072/073

01-5269167

Contact Us

रसुवा बाढीपछि सिकाई,मानसिक पुनःस्थापन र पुननिमार्णका लागि संघर्षरत बालबालिका र विद्यालय

Monday September 21, 2026

पृष्ठभूमि
मानिस सामान्यतया प्रकृतिको काखमा जन्मन्छ, प्रकृतिकै बीचमा हुर्कन्छ, प्रकृति सँगै आफ्नो दैनिक जीवनयापन गर्छ र जीवनका हरेक आरोह–अवरोह पार गर्दै अन्तत ः प्रकृतिकै काखमा विलीन हुन्छ । मानव जीवन र प्रकृतिबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र अभिन्न छ । प्रकृतिले मानव जीवनलाई आधार, आश्रय र अस्तित्व प्रदान गर्दै आएको छ । तर, प्रकृतिका केही स्वरूप यस्ता हुन्छन्, जसले मानव सभ्यता, संरचना र जीवनलाई क्षणभरमै तहसनहस पनि पार्न सक्छन् । बाढी, पहिरो, भूकम्प, आँधी, आगलागी, चट्याङ, हावा हुरी लगायतका प्राकृतिक विपत्तिहरू त्यसका केही उदाहरण हुन् । यस्ता विपत्तिहरूले मानिसलाई प्रकृतिको शक्ति र त्यसका अगाडि मानव जीवनको संवेदनशीलताको गहिरो अनुभूति गराउँछन् ।
२०८३ साल भाद्र १० गते घटेको अकल्पनीय र हृदयविदारक विपत्तिले यस्तै कठोर वास्तविकताको स्मरण र महसूसीकरण गराएको छ । सामान्य दिन झैँ सुरु भएको त्यो दिन क्षणभरमै हजारौँ मानिसका लागि जीवनकै सबै भन्दा पीडादायी दिन बन्न पुग्यो। अप्रत्याशित रूपमा आएको बाढीले जनजीवनमा ठूलो क्षति पु¥याउँदै परिवार, समुदाय र समग्र राष्ट्रलाई नै गहिरो शोकमा डुबायो । बाढीका कारण देशका विभिन्न भागमा हजारौँ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भए । कतिपय परिवारले आफ्नो घर, सम्पत्ति, जीविकोपार्जनका साधन तथा वर्षौँको मेहनतबाट आर्जित सम्पूर्ण सम्पत्ति गुमाउनुप¥यो भने कतिपय परिवारले आफ्ना प्रियजन समेत गुमाउनु परेको पीडादायी अवस्था सिर्जना भयो ।

वर्तमान अवस्था
यो विपत्तिले धेरै आमाको काख रित्त्यायो, धेरै महिलाको सिउँदो पुछियो र धेरै बालबालिकालाई अभिभावक विहीन तथा बेसहारा बनायो । आफ्ना सन्तान, श्रीमान्, आमाबुबा वा आफन्तजनलाई आँखै अगाडि गुमाउनु पर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिने अवस्था छैन । एकै छिन अघि सम्म हाँसिरहेको परिवार क्षणभरमै शोकमा डुब्नु, आफ्ना प्रियजनको अवस्था थाहा नहुनु र जीवित छन् कि छैनन् भन्ने अन्योलमा दिन बिताउनुपर्ने अवस्था आफैँमा अत्यन्त पीडादायी र त्रासदीपूर्ण छ। बागेश्वरी माध्यामिक बिद्यालय गल्छी ६ बैरेनी धादिङकी बाल विकास सहजकर्ता माया न्यौपाने आज पनि भाद्र १० गतेको त्यो घटना सम्झँदा शरीर जिरिङ्ग हुने र मनमा भय तथा त्रास उत्पन्न हुने आफु ठुलो दुर्घटनाबाट बचेको महसुस हुने,बेला बेलमा मुटु ढुक ढुक भइरहने गरेको अनुभव सुनाउनु हुन्छ । त्यो दिनको पीडा अझ बढी हृदयविदारक तब बन्छ, जब सामान्य दैनिक जीवन बिताइरहेका मानिसहरू नै अप्रत्याशित रूपमा विपत्तिको सिकार बन्न पुगे । बिहान कार्यालय तर्फ जाँदै गरेका कर्मचारी, घरमा परिवारका सदस्यका लागि खाना तयार गर्दै गरेकी आमा, आफ्ना छोराछोरीलाई विद्यालय पु¥याउँदै गरेका अभिभावक तथा विद्यालयतर्फ जाँदै गरेका बालबालिकाहरूले केही क्षणमै आफ्नो जीवन गुमाउनु परेको घटनाले सबैलाई स्तब्ध बनाएको छ । जीवनका सामान्य गतिविधिमा व्यस्त रहेका मानिसहरूलाई प्रकृतिले एकै छिनमा मृत्यु र बेपत्ताको पीडामा धकेलिदियो । यस्तो पीडा भोगेका परिवारहरूको अवस्था र उनीहरूले अनुभूति गरेको मानसिक आघातलाई सामान्य शब्दमा वर्णन गर्न सम्भव छैन ।

घटना, पीडा र प्रभाव लेखाजोखा
भाद्र १० गतेको विपत्तिले भौतिक संरचनामा मात्र क्षति पु¥याएको छैन; यसले हजारौँ मानिसको मनमा गहिरो मानसिक तथा भावनात्मक घाउ समेत छोडेको छ । विशेष गरी बालबालिकाहरुमा यस घटनाको दीर्घकालीन मनोसामाजिक प्रभाव पर्न सक्ने देखिन्छ। बाढीको दृश्य, परिवारका सदस्यको वियोग, घरबारविहीन अवस्था, आफन्तको बेपत्ता हुनु तथा भविष्यप्रतिको अनिश्चितताले प्रभावित समुदायमा डर, त्रास, चिन्ता र असुरक्षाको भावना बढाएको छ। त्यसैले विपत्तिपछिको पुनस्र्थापनालाई केवल भौतिक पुनर्निर्माणका रूपमा नहेरी मानवीय तथा मनोसामाजिक पुनस्र्थापनासँग पनि जोड्न आवश्यक छ।
म GPE KIX को सहयोगमा सञ्चालित नेपालमा बालबालिका अभिभावक र शिक्षक त्रयद्धारा बिद्यालय तयारीको अन्तराल हटाउने र बिस्तार गर्ने परियोजनामा कार्यरत छु । यो परियोजना नुवाकोट र धादिङ जिल्लाका धुनिवेशी, गल्छी, थाक्रे, गजुरी, शिवपुरी, पञ्चकन्या, तारकेश्वर र ककनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा सञ्चालित छ । परियोजनाको कार्यक्षेत्रमा रहेका विद्यालयहरूमा प्रारम्भिक बाल विकास र समावेशी शिक्षा सहयोगमा परिचालित छ । परियोजना कार्यान्वयन भएका बिद्यालयहरुमा परियोजनका गतिबिधि मार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउनका लागि अभिभावक तथा बिद्यालयका शिक्षकहरुलाई बिभिन्न तालिम तथा सचेतनामुलक क्रियाकलाप सञ्चालन गदै आईरहको छ ।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण परियोजना क्षेत्रका केही विद्यालय तथा विद्यालय आसपासका समुदायहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बाढी पश्चात् प्रभावित क्षेत्रको । बिद्यालयका प्रधानाध्यापक, बाल विकास सहजकर्ता र केही अभिभावकहरुसँग गरिएको कुराकानी र संवादबाट प्राप्त सुचनाका आधारमा बाढीले पारेको प्रभाव र बिद्यालय तथा समुदायको वर्तमान अवस्था यस लेख मार्फत उजागर गर्ने प्रयास गरिएको छ ।

भदौ १० गते बागेश्वरी माध्यमिक विद्यालय, धादिङमा सधैँ झैँ शिक्षक तथा बालबालिकाहरू नियमित रूपमा विद्यालयमा उपस्थित भइसकेका थिए । बिहानको प्रार्थनाको तयारी भइरहेका बेला अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको र रसुवा, स्याप्रुबेशी, वेत्रावती, त्रिशूली लगायतका आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पु¥याएको खबर प्राप्त भयो । बाढीको अवस्था भयावह बन्दै गएको र विद्यालयमा समेत जोखिम हुन सक्ने जानकारी आए पछि विद्यालयमा रहेका सबैलाई जति सक्दो छिटो सुरक्षित स्थानतर्फ जानलाई सुचित गर्न बिद्यालयकै एक जना शिक्षकले माइकिङ गर्दै सबै शिक्षक तथा बालबालिकालाई विद्यालयबाट माथिको डाँडातर्फ जान सूचना दिनु भयो । अचानक आएको यस्तो सूचना र बाढीको भयावह अवस्थाको जानकारीले शिक्षकहरू समेत एकछिन झस्किए र आत्तिए । आफ्नै सुरक्षाबारे चिन्ता हुँदा हुँदै पनि शिक्षकहरूले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी उनीहरूलाई व्यवस्थित रूपमा विद्यालयबाट बाहिर निकाल्न थाले । साना बालबालिकाहरू डराएर रुँदै आफ्ना आमा–बुबा तथा परिवारका सदस्यहरूलाई खोजिरहेका थिए भने कतिपय बालबालिकाहरू आत्तिएर शिक्षक तथा ठूला व्यक्तिहरूलाई समातेर बसिरहेका थिए । यस्तो अवस्थामा शिक्षकहरूलाई बालबालिकालाई सम्झाउँदै सुरक्षित स्थानमा लैजानु निकै चुनौतीपूर्ण भएको थियो।विद्यालयबाट करिब १० मिनेट हिँडेर सबैलाई माथिल्लो सुरक्षित स्थानमा पु¥याइयो । केही समयपछि तल विद्यालयतर्फ हेर्दा विद्यालय परिसर जलमग्न भइसकेको, चारैतिर धुँवा तथा कुहिरो जस्तो वातावरण देखिएको र बाढीको अवस्था झन् भयावह बन्दै गएको थियो। उक्त दृश्य देखे पछि शिक्षक तथा बालबालिकाहरू केही समय मौन र स्तब्ध भएका थिए । त्यस समयमा शिक्षकहरूमा बालबालिकाको सुरक्षा सँगै आफ्ना घरपरिवार, आफन्त तथा छिमेकीहरूको अवस्था बारे समेत गहिरो चिन्ता देखिन्थ्यो । बाढीको प्रवाह बढ्दै गएको, बजारका घरहरू समेत डुबानमा परेको र चारै तिर कोलाहल तथा भागदौडको अवस्था रहेकाले सबैमा डर, त्रास र मानसिक तनाव बढ्दै गएको थियो ।
अर्को तर्फ, बालबालिकाका अभिभावकहरूले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी लिन पटक–पटक फोन गरिरहेका थिए । आफन्त, साथी भाइ तथा छिमेकीहरूबाट समेत निरन्तर फोन तथा सन्देश आइरहेकाले शिक्षकहरूमा थप चिन्ता र अन्योल उत्पन्न भएको थियो । एका तर्फ बालबालिकाहरूलाई सुरक्षित राख्ने जिम्मेवारी, अर्को तर्फ आफ्ना परिवार तथा आफन्तहरूको अवस्था अज्ञात हुनुका कारण शिक्षकहरू मानसिक रूपमा निकै तनावपूर्ण अवस्थामा थिए । कतिपय शिक्षकहरू आफू सुरक्षित छु कि छैन भन्ने भन्दा पनि बालबालिकाहरू सुरक्षित छन् कि छैनन् भन्ने चिन्तामा बढी केन्द्रित थिए । बाढीको पानी बढ्दै गएको र विद्यालय तथा बजार क्षेत्र डुबानमा परेको दृश्यले शिक्षक र बालबालिकामा असुरक्षाको भावना थप बढाएको थियो। बालबालिकाहरूको अनुहारमा स्पष्ट रूपमा भय र त्रास देखिन्थ्यो भने शिक्षकहरू पनि बाहिरबाट संयमित देखिए पनि भित्रभित्रै निकै आत्तिएका र चिन्तित थिए। यस्तो विषम परिस्थितिमा शिक्षकहरूले आफ्नो डर र चिन्तालाई नियन्त्रण गर्दै बालबालिकालाई सम्झाउने, सुरक्षित राख्ने, पानी तथा आवश्यक सहयोग उपलब्ध गराउने र अभिभावकसँग सम्पर्क गराउने प्रयास निरन्तर गरिरहेका थिए । करिब ३ बजेतिर बाढीको प्रवाह केही रोकिएपछि बाटोको अवस्था बुझेर बालबालिकाहरूलाई क्रमशः अभिभावकको जिम्मा लगाइयो । त्यस पछि शिक्षक तथा विद्यालयका कर्मचारीहरू नजिकैको सुरक्षित विद्यालयमा गई रात बिताउन बाध्य भए । दिन भरको घटनाले सबैमा शारीरिक थकानसँगै गहिरो मानसिक तनाव र भयको अवस्था सिर्जना गरेको थियो । अचानक आएको विपद्ले ल्याएको भयावह दृश्य, आफ्ना परिवार तथा आफन्तहरूको अवस्था बारेको चिन्ता र बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु पर्ने जिम्मेवारीले शिक्षकहरूमा डर, त्रास, चिन्ता र असहजताको गहिरो अनुभूति भएको थियो ।
उहाँहरू सँग गरिएको नियमित कुराकानी तथा समन्वयबाट बाढी प्रभावित क्षेत्र तथा त्यस आसपासका समुदायमा पीडा, शोक, भय, डर तथा त्रासको अवस्था अझै कायम रहेको पाइएको छ । विशेष गरी नदी आसपास तथा बाढी र नदी कटानको उच्च जोखिममा रहेका विद्यालयका शिक्षक, विद्यालय कर्मचारी, बालबालिका तथा अभिभावकहरूमा पुन ः बाढी आउन सक्ने सम्भावनालाई लिएर गम्भीर चिन्ता र असुरक्षा महसुुस गरिहेको देखिन्छ । विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरू सँगको कुराकानीका क्रममा धेरै शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफूहरू अझै पनि भय र त्रासको अवस्थामा रहेको बताउनु भएको छ । बाढीबाट प्रभावित तथा नदी किनारमा रहेका विद्यालयमा कार्यरत शिक्षक र अध्ययनरत बालबालिकाहरूमा
“फेरि बाढी आयो भने विद्यालयको अवस्था के होला?”, “विद्यालयको संरचना भासियो वा बगायो भने के गर्ने?”, “शिक्षण–सिकाइ भइरहेको अवस्थामा अचानक बाढी आएमा आफू र बालबालिकालाई कसरी सुरक्षित राख्ने?”
जस्ता प्रश्न र चिन्ता निरन्तर रूपमा मनमा खेलिरहने गरेको धारणा व्यक्त गरेका छन् ।
विशेषगरी नदी कटान भइरहेको स्थान तथा नदीको नजिक रहेका विद्यालयहरूमा विद्यालयको भौतिक संरचना, बालबालिकाको सुरक्षा तथा विद्यालय सञ्चालनको निरन्तरताबारे गम्भीर आशंका उत्पन्न भएको देखिन्छ । बाढीका कारण यसअघि भोग्नु परेको क्षतिको अनुभव तथा पुनः बाढी आउन सक्ने अनिश्चितताले शिक्षक तथा बालबालिकामा मानसिक रूपमा असुरक्षित र त्रसित वातावरण सिर्जना गरेको छ। साथै बालबालिकाहरुमा मानसिक स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याहरु देखिन थालेका छन । बिशेष गरी अभिभावक, छिमेकीहरुले बाढी अएको समयमा उद्धार तथा खोज कार्यमा संलग्न रहदा देखिएका शवका अङ्गहरु र शव क्षत बिक्षत अवस्थामा रहेको कुरा गर्दा बालबालिकाले सुन्ने गरेका छन भने अर्को तर्फ सामाजिक सञ्जालमा आएका बाढी सँग सम्बन्धित फोटो भिडियो अभिभावक सँगै हेर्ने गर्दा पनि बालबालिकाहरुमा मानसिक रुपमा समस्या देखिन थालेको पाइन्छ । जसको परिणाम स्वरुप बालबालिकाहरुमा बिद्यालय जान डराउने घरबाट बाहिर निस्कन हिचकिचाउने, एक्लै बस्ने, डराउने, अभिभावक सँगै टाँसिएर बस्ने ,बारम्बार नराम्रो सपना देख्ने, सानो सानो आवाजमा पनि झस्कने जस्ता समस्याहरु देखिन थालेका छन् भने अर्को तर्फ वर्तमान परिस्थितिले शिक्षकहरुको मानसिक स्वस्थयमा समेत प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। कक्षा कोठाको असहज तथा दयानीय अवस्था देख्दा मर्माहित हुने, भावनात्मक रुपमा तनावको महसुस गर्ने र आफ्नो जिम्मेवारी प्रति चिन्तित हुने अवस्थाको सृजना गरेको पाइन्छ ।
यसका साथै नियमित रुपमा शिक्षण सिकाई प्रक्रियालाई पहिलेकै अवस्थामा सञ्चालन गर्न कठिनाई रहेको छ । जसका लागि बिद्यालय तथा कक्षा कोठाको पुननिर्माण वा पुनःस्थापनाका लागि आवश्यक श्रोत तथा साधनको अभावले शैक्षिक गतिबिधिलाई निरन्तरता दिने चुनौतीले पनि शिक्षकहरुमा थप मानसिक दबाब सृजना गरेको छ । बिशेष गरी सम्भावित विपद् वा हुन सक्ने अप्रिय घटनाबाट साना बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने डर र चिन्ता लगाएतका कुराले शिक्षकहरुमा थप मानसिक समस्या बन्न पुगेको छ । यस प्रकारको निरन्तर भय, त्रास र अनिश्चितताले विद्यालयमा शिक्षक तथा बालबालिकाको नियमित उपस्थिति, मनोसामाजिक अवस्था तथा शिक्षण–सिकाई प्रक्रियामा समेत प्रत्यक्ष प्रभाव पारिरहेको अवस्था छ । बिशेष गरी जोखिममा रहेका बिद्यालयहरुमा सुरक्षित रुपमा बिद्यालय कक्षा सञ्चालन गर्ने ,संभावित बिपदको अवस्थामा तत्काल अपनाउनु पर्ने सुरक्षा उपायबारे जानकारी गराउने तथा बालबालिका र शिक्षकको मनोसामाजिक सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सहयोग तथा समन्वय गर्नु पर्ने आवश्यकता देखिएको छ ।
यसरी हेर्दा अहिलेको अवस्था केवल भौतिक क्षति र पूर्वाधारमा परेको असरमा मात्र सीमित छैन । बाढीले विद्यालय समुदायमा डर, त्रास, असुरक्षा, चिन्ता, बेचैनी, तनाव तथा भावनात्मक अस्थिरताको अवस्था सिर्जना गरेको छ । यस्तो परिस्थितिमा शिक्षक स्वयं मानसिक रूपमा असहज अवस्थामा रहँदा उनीहरूले बालबालिकालाई सहज र सुरक्षित वातावरणमा प्रभावकारी रूपमा शिक्षण–सिकाइ गराउन कठिन हुने देखिन्छ । त्यसै गरी, भय र त्रासमा रहेका बालबालिकाले पनि कक्षा कोठामा आफ्नो ध्यान केन्द्रित गर्न, सिकाइ गतिविधिमा सक्रिय रूपमा सहभागी हुन तथा नयाँ कुरा सहज रूपमा ग्रहण गर्न कठिनाइ अनुभव गर्न सक्छन् । फलस्वरूप, यस्तो अवस्थामा सञ्चालन हुने शिक्षण–सिकाइ प्रक्रिया अपेक्षित रूपमा प्रभावकारी, गुणस्तरीय र दिगो हुन नसक्ने सम्भावना रहन्छ ।

अवको वाटो
विशेष गरी प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाहरू विपद् तथा त्रासद घटनाबाट तुलनात्मक रूपमा बढी प्रभावित हुन सक्छन् । उनीहरूले आफूले अनुभव गरेका वा अरूबाट सुनेका घटनालाई सही ढङ्गले बुझ्न र त्यसलाई व्यवस्थापन गर्न कठिनाइ अनुभव गर्न सक्छन् । डर, एक्लोपन, चुपचाप बस्ने, पटक–पटक एउटै घटना सम्झने, अभिभावकबाट टाढा हुन नचाहने, विद्यालय आउन डराउने, निद्रामा समस्या देखिने जस्ता विभिन्न व्यवहारिक तथा भावनात्मक प्रतिक्रिया देखा पर्न सक्ने भएकाले यस्तो अवस्थामा बालबालिकाको मनोसामाजिक आवश्यकतालाई प्राथमिकतामा राख्नु अत्यन्त आवश्यक देखिन्छ ।
तसर्थ, बाढीबाट प्रभावित विद्यालय, समुदाय, शिक्षक, बाल विकास सहजकर्ता र बालबालिकामा देखिएको डर, त्रास, चिन्ता तथा मानसिक बेचैनीलाई कम गर्दै उनीहरूलाई क्रमशः सामान्य अवस्थामा फर्काउन विद्यालयमा प्राथमिक मनोसामाजिक सहयोग तथा मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । यस्ता कार्यक्रम मार्फत शिक्षक तथा बालबालिकालाई आफ्ना भावना र अनुभव व्यक्त गर्ने सुरक्षित वातावरण प्रदान गर्नुका साथै विपद् पछिको तनाव तथा डरलाई सामान्य रूपमा बुझ्न, सकारात्मक रूपमा सामना गर्न र आफूलाई सुरक्षित राख्ने उपायबारे जानकारी दिई आत्मविश्वास वृद्धि गर्न सकिन्छ ।
साथै, विद्यालयमा सुरक्षित र सहयोगी वातावरण निर्माण गर्नु शिक्षक तथा बाल विकास सहजकर्ताको क्षमता अभिवृद्धि गर्नु, बालबालिका सँग संवेदनशील तथा बालमैत्री व्यवहार गर्ने सीप विकास गर्नु, विपद्का समयमा अपनाउनु पर्ने सुरक्षा तथा आपत्कालीन तयारी सम्बन्धी जानकारी प्रदान गर्नु र समस्या देखिएका बालबालिका वा शिक्षकलाई आवश्यकताअनुसार थप मनोसामाजिक परामर्शमा जोड्न आवश्यक हुन्छ ।
यस विषम परिस्थितिमा विद्यालयलाई केवल औपचारिक शिक्षण–सिकाइको केन्द्रका रूपमा मात्र नभई बालबालिका तथा शिक्षकहरूले आफूलाई सुरक्षित, सहयोग प्राप्त गरेको महसुस गर्ने सुरक्षित तथा सहयोगी वातावरणको विकास गर्न आवश्यक छ। भौतिक संरचनाको पुनःस्थापना जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण विपद्का कारण प्रभावित भएको शिक्षक तथा बालबालिकाको मानसिक तथा मानोसामाजिक अवस्थाको पुनःस्थापना पनि हो । त्यसैले बाढी प्रभावित विद्यालयहरूमा प्राथमिक मनोसामाजिक सहयोगका कार्यक्रमलाई तत्काल प्राथमिकताका साथ सञ्चालन गरी शिक्षक तथा बालबालिकालाई भय र त्रासबाट क्रमशः सामान्य अवस्थामा फर्काउन सकेमा मात्र शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी, सुरक्षित, निरन्तर र दिगो बनाउन सहयोग पुग्ने देखिन्छ ।